काठमाडौं। साताको दोस्रो दिन सोमवार शेयर बजार परिसूचक नेप्से ९२.४२ अंकले बढेको छ । ९२.४२ को बृद्धिसंगै शेयर बजार २५८५.०१ बिन्दुमा पुगेको छ।
यो बजार अहिलेसम्मकै एतिहासिक उचाइ हो। यसअघि गत सोमबार २५५६ अंकको रेकर्ड बनाएको थियो। आज कारोबार रकम पनि उल्लेख्य बढेको छ। १० अर्ब ३८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार रकममा भने यसअघि नै साढे १० अर्बको रेकर्ड बनेको छ।
आज सबै समूह बढेकँ छन्। बैंकिङ ५७, ब्यापार ७१, विकास बैंक ४९, होटल २४, जलविद्युत ६४, फाइनान्स ३४, निर्जीवन बीमा ४४७, उत्पादन १५९, अन्य ६२, माइक्रोफाइनान्स ३७० र जीवन बीमा समूह ६९७ अंकले बढेका छन्।
यस दिन धेरै कमाउनेमा लघुवित्त कम्पनीका लगानीकर्ता अगाडि रहे। यस दिन ११ कम्पनीको मूल्य ठीक १० प्रतिशतले बढेको छ।
वाणिज्य बैंकहरुमा नविल र ग्लोबल आइएमई बैंकको मूल्य सबैभन्दा धेरै क्रमशः ८.१ र ७.९ प्रतिशतले बढेको छ।