काठमाडौं। राष्ट्रिय महिला फुटबल लिगमा विभागीय टोली नेपाल एपिएफ क्लबले आफ्नो विजयी यात्रालाई दसौं खेलसम्म पनि जारी राखेको छ।
एपिएफले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आजको भएको निकै प्रतिस्पर्धात्मक विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको तीनै गोल दोस्रो हाफमा भएका थिए । खेलको ६८ औं मिनेटमा पुलिसको आत्मघाती गोलमा एपिएफले अग्रता लिएको थियो।
८५ औं मिनेटमा रविना गोलेले पुलिसको कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गरेपछि एपिएफले २–१ को कठिन जित हात पारेको हो। जितसँगै एपिएफ १० खेलबाट ३० अंकका साथमा लिगको शीर्ष स्थानमा कायम रहँदा पराजय बेहोरेको पुलिसले समान खेलबाट १४ अंक जोडेको छ।
यस्तै अर्को खेलमा जित निकाल्दै विराटनगर महानगरपालिका तेस्रो स्थानमा उक्लिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा वालिङविरुद्ध विराटनगरले १–० गोलको संघर्षपूर्ण जित निकालेको हो।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको ३५ मिनेटमा गोल गर्दै विराटनगरले अग्रता बनाएको थियो। मिडफिल्डर आशाकुमारीले फ्री किकमार्फत गोल गर्दै विराटनगरलाई अग्रता दिलाएकी थिइन्।
योसँगै १४ अंक जोडेको वालिङ चौथो स्थानमा झरेको छ भने पाँचौं स्थानमा स्थानमा रहेको पुलिसको पनि समान १४ अंक छ। विराटनगरले १६ अंक बनाएको छ लिगमा ११ औं चरण सुरु भएसँगै अब वालिङ र विराटनगर बाहेक सबै टिमका समान २–२ खेल बाँकी छन्।