प्रचण्ड–नेपाल पक्षको आपत्तिबीच निर्वाचन आचारसंहिता जारी गर्दै निर्वाचन आयोग

काठमाडौं। निर्वाचन आयोगले आउँदो वैशाख १७ र २७ गते तय गरिएको निर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गर्ने तयारी अघि बढाएको छ। आयोगले निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदा तयार गरिसकेको छ भने त्यसबारे राजनीतिक दलहरुबाट सुझाव लिने प्रक्रिया अघि बढाइएको प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

दुई चरणमा गर्ने तय गरिएको निर्वाचनका लागि निर्वाचन आचारसंहिता २०७७ मस्यौदाको विषयमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरुबाट सुझाव लिने क्रम आइतबार शुरु गरिएको थियो।

आयोगले तयार पारेको आचारसंहिताको मस्यौदामा राजनीतिक दल, उम्मेदवार तथा भ्रातृ संगठनलाई लाग्ने आचारसंहिता तथा उनीहरूले पालना गर्नुपर्ने सम्बन्धका बारेमा छलफल भएको थियो।

आयोगले तयार पारेको मस्यौदामा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई लाग्ने, सुरक्षा निकायलाई लाग्ने, संवैधानिक निकायलाई लाग्ने, निजामती कर्मचारीलाई लाग्ने र विभिन्न संघसंस्थालाई लाग्ने आचारसंहिताका प्रावधानहरु राखिएको छ।

अन्य सम्बन्धित समाचार:  दलहरुबीच समझदारी हुन्छ: सभामुख

सम्बन्धित जिल्लामा कार्यक्रम गर्दा स्थानीय प्रशासनको स्वीकृत लिनुपर्ने, पहाडी क्षेत्रमा बिहान ८ देखि बेलुकी ५ बजेसम्म, अन्य क्षेत्रमा बिहान ८ देखि बेलुकी ७ बजेसम्म चुनावप्रचार गर्न पाउने, विद्यालयलगायत स्थलहरूमा कार्यक्रम गर्न नहुने र सवारीसाधन प्रयोग गर्नेलगायत विषयहरु समेटिएको छ।

राजनीतिक दलका नेताहरुको सुझाव लिएर छिट्टै जारी गरिने आयोगले जनाएको छ। नेकपाको विवाद नटुंग्याउँदै आचारसंहिता जारी गर्न लागेकोमा नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आपत्ति व्यक्त गर्दै आएका छन्।