भारतका मुख्यमन्त्रीको अभिव्यक्तिप्रति भीम रावलको आपत्ति 

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले भारतको त्रिपुरा राज्यका मुख्यमन्त्रीले नेपालको स्वाधीनताविरुद्ध दिएको अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख सामन्त गोयलबीच भेटवार्ताको परिणाम भएको आरोप लगाएका छन्।

त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लवकुमार देवले आफ्ना केन्द्रीय गृहमन्त्री अमित शाहले आफू आबद्ध दल भारतीय जनता पार्टीले नेपालमा पनि सरकार बनाउने योजना बनाइरहेको भनेर दाबी गरेका थिए। जुन कुरा भारतीय सञ्चारमाध्यममा आएका थिए।

यसो भन्ने आँट गर्नु हाम्रा प्रधानमन्त्री ओलीले रअ प्रमुख गोयललाई मध्यराति बालुवाटारमा भेट दिनुको परिणाम भएको नेता रावलले टिप्पणी गरेका हुन्।

‘हालै भारतीय गृहमन्त्रीलाई उधृत गर्दै त्यहाँका एक जना मुख्यमन्त्रीले नेपालको स्वाधीनता र स्वाभिमानका विरूद्ध दिएको अभिव्यक्ति निन्दनीय छ,’ रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो प्रम केपीको बालुवाटारमा राति भारतीय गुप्तचर प्रमुखसँगको गोप्य मन्त्रणाको परिणाम हो। नेपालविरोधी कुनै पनि कामकुरा देशभक्त नेपालीलाई सह्य छैन।’

अन्य सम्बन्धित समाचार:  एमालेको सबै भोट मलाई आउँछ, मेरो जित पक्का छः गृहमन्त्री बादल