घाइते सावित्राले बाँकी खेल गुमाउने

काठमाडौं। खेलका क्रममा घाइते भएकी विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबका महत्वपूर्ण खेलाडी सावित्रा भण्डारीले बाँकी खेल गुमाउने भएकी छिन्।

एपिएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि नजिक पु¥याउन भूमिका निर्वाह गरेकी भण्डारी सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएकि थिइन्। खेलको ६९औँ मिनेटमा पुलिसका गोलकिपर उषा नाथसँग ठोक्किएपछि उनी घाइते हुँदै मैदानबाट बाहिरिएकि हुन्। उनको खुट्टामा चोट लागेको छ।

एमआरआई रिपोर्ट आएपछि मात्रै कति समय मैदानबाहिर बस्ने भन्ने बारेमा थाहा हुने एपिएफका मुख्य प्रशिक्षक भगवती थापाले जानकारी दिइन्। हरेकजसो खेलमा गोल गर्दै आएकी भण्डारीले सोमबार भने गर्न सकिन्न। उनीले हालसम्म १० खेलमा ४३ गोल गरेकी छिन्। महिला लिगमा हालसम्म कुनै पनि खेलाडीको यही नै उत्कृष्ट खेल प्रदर्शन हो। एपिएफले हालसम्म शतप्रतिशत नतिजा निकाल्दै १० खेलमा ३० अङ्क जोडेको छ।

एपिएफ लिगको शीर्ष स्थानमा रहँदै उपाधि नजिक पुगेको छ। अब एक खेल जितेमा उपाधि जित्ने देखिन्छ। त्रिभुवन आर्मी क्लबले १० खेलबाट २५ अङ्क जोडेको छ। आर्मी लिगको दोस्रो स्थानमा छ। एपिएफले अब बुधबार विराटनगरसँग प्रतिस्पर्धा गर्ने छ । सोमबारको खेलमा एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको थियो।

अन्य सम्बन्धित समाचार:  सेभियामाथि बार्सिलोना विजयी