भारगरथी भट्ट हत्याका दोषी नजिक पुगिसक्यौँः गृहमन्त्री बादल

काठमाडौं। गृहमन्त्री रामबहादुर थापा बादलले बैतडीकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषीनजिक प्रहरी पुगेको जानकारी दिएका छन्। उनले उक्त घटनाका दोषीलाई छिट्टै कानुनी कठघरामा उभ्याउने समेत प्रतिबद्धता गरेका छन्।

गृहमन्त्रालयमा मंगलबार महिला हिंसाका घटना बढेकाले हिंसामा संलग्नलाई कारवाहीको माग गर्दै सर्वोच्च अदालत बार एशोसिएशन, महिला समितिको नेतृत्वमा गृहमन्त्रालय आएको प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्री थापाले उक्त घटनामा सरकार गम्भीर रहेको समेत बताए।

कञ्चनपुरकी निर्मला पन्तको जस्तो भट्टको घटना जटिल नरहेको जानकारी गराउँदै गृहमन्त्री थापाले विगतबाट पाठ सिकेर टुङ्गोमा र्पुयाउने गरी छानविन प्रक्रिया अघि बढेको जनाए। थापाले हिंसा बलात्कारका घटना हुन नदिन र यस्ता घटना भएमा तत्काल दोषी पहिचान गरी कानुनी कारवाही अघि बढाउन प्रहरीलाई निर्देशन दिइसकेको समेत बताए।

अन्य सम्बन्धित समाचार:  मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

त्यस क्रममा महिला कानुन व्यवसायीहरुले उक्त घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गर्दै मन्त्री थापालाई ज्ञापनपत्रसमेत बुझाएका हुन्।