प्रधानमन्त्री ओलीलाई गालीगलौज गरेको आरोपमा कांग्रेस कार्यकर्ता पक्राउ

सामूहिक

काठमाडौं। प्युठानमा सरकारविरुद्ध भएको प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अश्लील गालीगलौज गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेता तुनाराम खत्री र कार्यकर्ता सागर जिएमलाई प्रहरीले पक्राउ गरेको हो।

दुई जनाले अश्लील नारा लगाएको भन्दै ठाडो निवेदन परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, प्युठानका प्रमुख डीएसपी सुनिल मल्लले बताए । ‘सोधपुछका लागि हो, सोमबारै छाडिसक्यौं’, उनले भने। हाल प्रकरणबारे ओली पक्षका नेता, कार्यकर्ता र कांग्रेसका कार्यकर्ताबीच इलाका प्रहरी कार्यालय, ढिंग्रीमा छलफल भइरहेको जनाइएको छ।

पक्राउ परेका विद्यार्थी नेता खत्री भने अश्लील गाली नगरिएको बताउँछन्। ‘स्वर्गद्वारी नगरपालिकाको–९ बाट प्रदर्शनमा सहभागी हुन सदरमुकाम आएका थियौं, फर्किने क्रममा गाली गलौज गरेको भन्दै उजुरी परेछ’, उनले भने।

अन्य सम्बन्धित समाचार:  वार्तापछि विप्लवको पहिलो तस्बिर

कांग्रेसले देशभर आन्दोलनको कार्यक्रम घोषणा गरे अनुरुप सोमबार सदरमुकाममा प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन राखिएको थियो।