जिम्बाबेमा लकडाउनको म्याद थप

अमेरिका कोरोना

काठमाडौं। कोरोनाभाइरसबाट प्रभावित अफ्रिकी मुलुक जिम्बाबेमा लकडाउनको समयावधि फेरि थप गरिएको छ। कोरोनाभाइरसको महामारी नियन्त्रण नभएकाले लकडाउन फेरि थप्नु परेको राष्ट्रपति इमर्सन मनङ्गवाले बताए।

उनका अनुसार यसअघि छ हप्ता लागु गरिएको देशव्यापी लकडाउन अहिले दुई हप्ता थप्ने तयारी भएको हो। राष्ट्रपति मनङ्गवाले देशमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेक्रम नरोकिएकाले लकडाउन आवश्यक परेको बताए। व्यापार व्यवसाय गर्ने समय भने बढाइएको छ। दैनिक सातदेखि नौ घण्टासम्म व्यापार व्यवसाय गर्न पाइने व्यवस्था गरिएको छ । रातिको समयमा भने कफ्र्यु नै लगाइएको छ।

लकडाउनको समयमा विद्यालयहरु भने पूर्ण रुपमा बन्द हुने पनि राष्ट्रपति मनङ्गवाले जानकारी दिए। त्यसैगरी अन्तर शहर र अन्तर प्रान्तस्तरीय भ्रमण पनि बन्द गराइएको छ भने भोजभतेर र भिडभाड पनि गर्न नपाइनेको व्यवस्था गरिएको छ। सबै गतिविधि गर्दा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्ड तथा निर्देशिकाअनुसार गर्न पनि सरकारले आह्वान गरेको छ।

अन्य सम्बन्धित समाचार:  जेल व्यवस्थापनका लागि बुरूण्डीमा ४० प्रतिशत कैँदी जेलमुक्त

जिम्बाबेमा गत आइतबार एक दिनमा कोरोनाका कारण दुई जनाको मृत्यु भएको थियो भने ६८ जना सङ्क्रमित भएका थिए। अधिकारीहरुकाअनुसार जिम्बाबेमा अहिलेसम्म झण्डै एक हजार ४०० जनाको मृत्यु भएको छ भने ३५ हजारभन्दा बढी सङ्क्रमित भएका छन्।