बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

हेटौंडा। बागमती प्रदेशसभा बैठक अनिश्चित कालका लागि स्थगित भएको छ। मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको लामो समयपछि आज बस्ने भनिएको प्रदेशसभा बैठक स्थगित भएको हो।

आज दिउँसो २ बजे बस्ने भनिएको प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मको लागि भन्दै बुधबार बिहानै स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।

यसअघि माघ १९ गतेका लागि तय भएको बैठक मुख्यमन्त्रीको दवावमा अघिल्लो राति सूचना जारी गर्दै सभामुख श्रेष्ठले फागुन ५ गतेसम्मका लागि स्थगित गरेका थिए।

प्रदेशसभा स्थगित भएपछि आज प्रदेश सभाको बैठक भन्दै हेटौंडा आइपुगेका सांसदहरु भने आक्रोशित भएका छन्। गत पुस १० गते प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो।

अन्य सम्बन्धित समाचार:  पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता लिन नेविसंघको आग्रह