स्थानीय सरकारद्वारा २९ सडक कालोपत्र सम्पन्न

लमजुङ। लमजुङको बेँसीशहर नगरपालिकाले तीन आर्थिक वर्षमा २९ वटा सडक कालोपत्र सम्पन्न गरेको छ। नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ देखि २०६६÷७७ सम्ममा नगरभित्रको विभिन्न २९ वटा शाखा सडक कालोपत्र सम्पन्न गरेको हो।

नगरपालिकाको ६० प्रतिशत र उपभोक्ताको ४० प्रतिशत लगानीमा नगरभित्रका विभिन्न शाखा सडक कालोपत्र सम्पन्न गरेको नगर प्रमुख गुमानसिंह अर्यालले बताए। उनले भने, “हामीले भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राख्दै आएको र तीन वर्षको अवधिमा नगरपालिकाले ३.६६ किलोमिटर सडक कालोपत्र गरेको छ। यतिका सडक कालोपत्र गर्नलाई करीब रु चार करोड खर्च भएको छ।’’

नगरपालिकाका अनुसार गत आर्थिक वर्ष २०७६÷७७ मा ०.९९ किलोमिटर सडक अर्थात सात सडक कालोपत्र सम्पन्न भएको थियो। त्यस्तै आव २०७५÷७६ मा १.४७ किलोमिटर अर्थात् १४ सडक र आव २०७४÷७५ मा १.५ किलोमिटर अर्थात् आठ सडक कालोपत्र सम्पन्न भएको थियो।

अन्य सम्बन्धित समाचार:  ज्योति लाइफले ६६ लाख कित्ता आइपीओ खुला गर्ने

कालोपत्र सम्पन्न गरेकामध्ये आव २०७६÷७७ मा रु ४३ लाख ९७ हजार ८६१ आव २०७५÷७६ मा रु एक करोड ६३ लाख ८३ हजार ३१४ र आव २०७४÷७५ मा रु एक करोड ५० लाख खर्च भएको नगरपालिकाले जनाएको छ। स्थानीय तहको निर्वाचनपछि बेँसीशहर बजारका शाखा सडक ६०÷४० को लागत साझेदारीमा कालोपत्र गरिएका हुन्।

सडक विस्तार तथा कालोपत्र हुन बाँकी सडकको समेत काम हुने प्रक्रियामा रहेका छन्। केही सडकको निर्माण कार्य अघि बढिरहेको छ। नगरपालिकाले यस चालू आवमा नगरको विभिन्न स्थानका पाँच सडक कालोपत्र गर्न लागेको छ। यसका लागि चालू आवमा नगरपालिकाले रु ५४ लाख ९८ हजार ३६९ विनियोजित गरेको छ। नगरपालिकाले नगरभित्रका सबै गाउँमा सडक सञ्जालले जोड्न लागेको छ।

अन्य सम्बन्धित समाचार:  साताको अन्तिम दिन सेयर बजारमा गिरावट