नेपाल पुलिस र आर्मीको बराबरीसँगै एपिएफ च्याम्पियन

काठमाडौं। नेपाल एपिएफ क्लबले महिला राष्ट्रिय लिगको उपाधि जितेको छ। बुधवार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल १–१ को बराबरीमा सकिएपछि एपिएफ २ खेल बाँकी रहँदै च्याम्पियन बनेको हो।

आर्मीले उक्त खेलमा जित हासिल गरेको भए एपिएफको अर्को खेलको नतिजाले अन्तिम खेलसम्म लिगको उपाधि होड लम्बिने सम्भावना थियो। तर पुलिस र आर्मीको बराबरीसँगै एपिएफ च्याम्पियन बनेको हो। यससँगै आर्मी लिगको उपविजेता बन्ने पक्का भएको छ । पुलिस भने अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ।

पुलिसले खेलमा अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन। पहिलो हाफको १७ औं मिनेटमा अमृता जैसीको हेडर विमला विकलाई लाग्दै गोल भएपछि पुलिसले अग्रता लिएको थियो। दोस्रो हाफको ५३ औं मिनेटमा रश्मी कुमारी घिसिङले बराबरी गोल फर्काउँदै आर्मीलाई उपाधि होडमा कायम रहने आशा जगाएकी थिइन्।

अन्य सम्बन्धित समाचार:  विद्यालयस्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक

दोस्रो हाफको इन्ज्युरी समयमा पुलिसले खेल जित्ने सुवर्ण अवसर खेर फाले। पेनाल्टी क्षेत्रभित्र ह्यान्ड भएपछि प्राप्त पेनाल्टीमा पुलिसले अग्रता लिन सकेन। कप्तान घिमकुमारी गुरुङको पेनाल्टी प्रहार पोस्टभन्दा निकै माथि गएपछि पुलिसले अंक बाँड्नुपरेको हो। उक्त जितले आर्मीको ११ खेलमा २६ अंक भएको छ । १० खेल खेलेको एपिएफ ३० अंक जोड्दै च्याम्पियन बनेको छ। पुलिस ११ खेलमा १५ अंकसहित चौथो स्थानमा छ। विराटनगरको ११ खेलमा १६ अंक छ। वालिङ १४, चन्द्रपुर ९ र चौदण्डीगढी अंकविहिन रहँदै पुछारका तीन स्थानमा छन्।