दश श्ययाको नगर अस्पताल सञ्चालन

पर्वत। फलेवास नगरपालिकामा १० श्ययाको नगर अस्पताल सञ्चालन गरिएको छ। नेपाल सरकारको एक पालिका एक अस्पताल कार्यक्रमअन्तर्गत नगरपालिकाले १० श्ययाको अस्पताल सञ्चालनमा ल्याएको हो।

वडा नं ६ देवीस्थानमा रहेको साविक स्वास्थ्यचौकीको भवनबाट अस्पतालको सेवा शुरु गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ। गत मङ्सिर १५ गते देशभरका स्थानीय तहमा शिलान्यास भएका अस्पतालमध्ये फलेवासको उक्त आधारभूत अस्पतालले पहिलो पटक पुरानै भवनबाट सेवा सुचारु गरेको हो।

अस्पतालमा एक डाक्टर, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी रहेका छन्। अस्पताल निर्माण तथा सञ्चालनका लागि नेपाल सरकारले रु १० करोड ६३ लाख सहयोग गरेको तथा आवश्यक सामग्री खरीद गर्न र कर्मचारी व्यवस्थापनका लागि नगरपालिकाले सहयोग गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रुद्र सापकोटाले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे

नगर अस्पतालको नगरप्रमुख पदमपाणि शर्माले उद्घाटन गर्दै सेवा शुभारम्भ गरेको हो। नगरप्रमुख शर्माले अस्पताल उद्घाटनसँगै नगरपालिका स्वास्थ्य क्षेत्रको नयाँ युगमा प्रवेश गरेको बताए। उनले जनताको स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण भएकाले जनतालाई कसरी स्वस्थ्य राख्ने भन्नेमा नगरपालिका लागि परेको बताए।