शिक्षक हत्या प्रकरणः विप्लवका मोरङ इन्चार्ज कारागार चलान

मोरङ। शिक्षक हत्याको आरोपमा पक्राउ परेका प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ जिल्ला इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक कारागार चलान भएका छन्।

जिल्ला अदालत मोरङकी न्यायाधीश दुर्गा खड्काको इजलासले हातहतियार खरखजना मुद्दामा पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि ३२ वर्षीय विक कारागार चलान भएका हुन्। संखुवासभाको मादी नगरपालिका–४ ओखरबोटे घर भएका विकलाई व्यापारीसँग चन्दा लिन जाँदै गरेको अवस्थामा मोरङको बूढीगंगा गाउँपालिका–४ बाट गत माघ ७ गते हतियारसहित पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए।

अनुसन्धान थाल्दा मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्रकुमार श्रेष्ठको अपहरणपछि हत्या गरिएको घटनामा पनि उनको संलग्नता देखिएको राईको भनाइ छ। कर्तव्य ज्यान मुद्दामा भने विकसहित ‘विप्लव’ समूहका महासचिव नेत्रविक्रम चन्द, पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’समेत गरेर ३५ जनाविरुद्ध दर्ता भएको छ। मुद्दाको बहस भने आगामी आइतबारबाट सुरु गरिने स्रेस्तेदार दाहालले बताएका छन्।

अन्य सम्बन्धित समाचार:  अझै पनि राष्ट्रपति कार्यालय पुगेन संसद बैठक बोलाउने निर्णय 

सुराकीको आरोप लगाउँदै घरबाटै नियन्त्रणमा लिएर अपहरणपछि ‘विप्लव’ समूहले शिक्षक श्रेष्ठको गत मंसिर २३ गते हत्या गरेको हो। मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५३ वर्षीय श्रेष्ठको घाँटी रेटेर विभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। घटना भएकै दिन ‘विप्लव’ समूहका मेची–कोसी ब्यूरो इन्चार्ज प्रतापले विज्ञप्ति जारी गरेर हत्याको जिम्मा लिएका थिए।