काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेलायतको ग्लासगाउमा आयोजना हुने मौसम परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) को आयोजक समितिका संयोजक एवं बेलायती सांसद आलोक शर्मा नेतृत्वको टोलीले भेट गरेको छ।
प्रधानमन्त्री निवास वालुवाटारमा बुधबार भएको भेटमा टोलीले नेपालको मौसम परिवर्तनबाट नेपालको हिमालय क्षेत्रमा परिरहेका प्रभावहरुका बारेमा प्रधानमन्त्रीसँग जिज्ञासा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए। उनका अनुसार उहाँका अनुसार यसबारे अध्ययन गर्न कोप–२६ इच्छुक रहेको समेत टोलीले प्रधानमन्त्री ओलीसँग बताएको थियो।
मौसम परिवर्तनसम्बन्धी विषयलाई सम्बोधन गर्न नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रमप्रति टोली सकारात्मक रहेको टोलीले बताएको थियो। यसका लागि आवश्यक सहकार्य गर्न आफूहरु तयार रहेको जानकारी प्रधानमन्त्रीसमक्ष टोलीका प्रमुख शर्माले राख्नुुभएको प्रेस सल्लाहाकार थापाले जानकारी दिए।
नेपालले कार्बन उत्सर्जन कम गर्न सन् २०३० देखि २०५० सम्मका लागि बनाएको योजना राम्रो रहेको भनाइ टोली प्रमुख शर्माको थियो। प्रेस सल्लाहकार थापाका अनुसार प्रधानमन्त्री ओलीले कोप–२६ टोलीले सम्मेलनपूर्व भ्रमण गर्ने मुलुकमा नेपाललाई समेत समावेश गरेकोमा धन्यवाद दिए।
प्रधानमन्त्री ओलीले नेपालले कार्बन उत्सर्जन घटाउनका लागि गरेका प्रयासहरु र यससम्बन्धी सरकारका प्रतिबद्धताबारे टोलीलाई जानकारी दिएका थिए । “नेपाल विश्वव्यापी मौसम परिवर्तनका कारण हिमाली क्षेत्रमा परेका प्रभावबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान पुगोस् भन्ने चाहन्छ भन्ने कुरा प्रधानमन्त्रीले टोली समक्ष राख्नुभयो”, थापाले भने।
कोरोना भाइरसको महामारीका कारण स्थगित सगरमाथा संवाद कार्यक्रम आगामी दिनमा आयोजना गरिने जानकारी पनि प्रधानमन्त्री ओलीले सो अवसरमा जानकारी दिनु भएको उहाँका प्रेस सल्लाहाकार थापाले बताए।
आगामी नोभेम्बर महिनामा बेलायतको ग्लासगाउमा मौसम परिवर्तनसम्बन्धी २६ औँ अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । सन् २०२० को नोभेम्बरमा तय भएको यो सम्मेलन कोभिड–१९ प्रकरणका कारण एक वर्ष पर सारिएको हो ।