लिखित जवाफ बुझाएर फर्किए प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन्। उनले बिहीबार मध्याह्न अदालत पुगेर लिखित जवाफ दिएका हुन्।

जवाफ बुझाएपछि ओली केही बेर सर्वोच्च अदालतको भवन निरीक्षण गरेर फर्किएका छन्।

ओलीले उक्त मुद्दामा गत आइतबार म्याद बुझेका थिए। अदालतको अवहेलना गरेको भनेर ओलीविरुद्ध परेको मुद्दामा माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।

अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट निवेदन दर्ता गराएका थिए।

अन्य सम्बन्धित समाचार:  खोलो देखाउनुस् पुल बन्छ, कच्ची बाटो देखाउने वित्तिकै पीचः प्रधानमन्त्री ओली

म्याद बुझेको सात दिनभित्र लिखित जवाफ दिनुपर्ने व्यवस्थाअनुसार उनी जवाफ लिएर अदालत गएका हुन्। प्रधानमन्त्री आउने भएपछि सर्वोच्च अदालत परिसरमा बिहानैदेखि बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएका थिए।