कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रस्तावित महाधिवेशन हेरफेर गर्न माग गरेको छ। आज बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पौडेल समूहले केन्द्रीय अधिवेशन साउन २३ भित्र सक्नेगरी तालिका संशोधन गर्न दबाव दिने भएको छ। समूहले असारको पहिलो हप्ताभित्र वडा देखि जिल्ला तहसम्मको अधिवेशन सक्न बैठकमा विषय उठाउने भएको छ।

पौडेल समूहले कृयाशिल सदस्यताको विवरण केन्द्रमा नपठाउने जिल्लाहरूलाई नपर्खने र महाधिवेशनमा भाग लिन नपाउने बाध्यात्मक अवस्था सिर्जना गर्ने नीति अपनाउन नेतृत्वलाई बैठकमा दबाब दिने तयारी गरेको छ। विधानसम्वत् पाँच वर्षे कार्यकाल पूरा गरेको कांग्रेसले हिजोको केन्द्रीय कार्यसमितिको बैठकमा संविधानको धारा २६९ को उपधारा (४) (ख) बमोजिम आगामी महाधिवेशनबाट पारित गर्ने गरी विधान संशोधन गरी छ महिना कार्यकाल थप गर्ने प्रस्ताव गरेको हो।

अन्य सम्बन्धित समाचार:  सभापति देउवाद्वारा डा. उप्रेतीको निधनप्रति दुःख व्यक्त

प्रस्ताव अनुसार ७ असारभित्र क्रियाशील सदस्यताको छानविन टुंग्याउने र अन्तिम नामावली प्रकाशन गर्ने, २० असारमा गाउँनगर वडाको अधिवेशन गर्ने, २२ गते पालिकास्तरीय समितिको अधिवेशन गर्ने, २५ असारमा प्रदेशसभा क्षेत्रीय समितिको र २७ असारमा प्रतिनिधिसभा क्षेत्रीय समिति तथा एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन ३० असारमा गर्ने प्रस्ताव गरेका छन्। सात प्रदेश समितिको अधिवेशन साउन ६ गतेका लागि प्रस्ताव गरिएको छ। यस्तै भदौको ७, ८, ९ र १० गते काठमाडौंमा १४औं महाधिवेशन गर्ने प्रस्ताव बैठकमा छलफलका लागि प्रस्तुत भएको प्रवक्ता शर्माले जानकारी दिए। हिजोबाट सुरु भएको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि केरीबेरमा शुरु हुँदैछ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना