दोहोरो अंकले नेप्से बढ्दा शेयर बजार नयाँ उचाइमा

काठमाडौं। साताको सेयर कारोबारको अन्तिम दिन आज सेयर बजार २५ अंकले बढेकोे छ। कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेर बन्द भएको हो। नेप्सेमा २५ अंकको वृद्धिसँगै नेप्से परिसूचक दुई हजार छ सय ३६ अंकमा पुगेर रोकिएको छ।

यस क्रममा एक करोड ९४ लाख कित्ता सेयर किनबेच भएर आठ अर्ब ६७ करोड रूपैयाँको कारोबार भएको छ। बजार बढे पनि आज कारोबार भएका १२ मध्ये चार समूहमा गिरावट आएको छ। आज बीमा कम्पनीसहित लघुवित्त र होटल समूह घटेका छन्। यसअघि लामो समय नेप्से उचालेका बीमा समूहमा सुस्तता देखिएको छ। जीवन बीमा १०७ र निर्जीवन बीमा कम्पनी समूहको सूचक ५१ अंकले घटेका छन्। यस्तै, व्यापार समूह सबैभन्दा बढी ८२ अंक, विकास बैंक समूह ५३ अंकले बढेका छन्। यीसहित बैंक, जलविद्युत्, वित्त, उत्पादनमूलक, अन्य र म्युचुअल फण्ड समूहसमेत बढेका छन्। नेप्सेमा कारोबार भएका कम्पनीमध्ये आठ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। यसमध्ये नेपाल हाइड्रो डेभलपर्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

अन्य सम्बन्धित समाचार:  सुनको अभावबाट उत्पन्न समस्या समाधान गर्न अर्थमन्त्रीसँग आग्रह