विद्यार्थीलाई खोपको पहिलो अधिकार दिन माग

काठमाडौं। नेपाल विद्यार्थी सङ्घले कोरोना भाइरस विरुद्धको खोपको पहिलो अधिकार विद्यार्थीलाई दिइनुपर्ने माग गर्दै आज काठमाण्डौको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। विद्यालय र क्याम्पसहरू खुलेका कारण विद्यार्थीहरूलाई कोरोनाको जोखिम बढेको भन्दै नेपाल विद्यार्थी सङ्घले विद्यार्थीहरूलाई प्राथमिकतामा राखेर कोरोनाविरुद्धको खोप दिनुपर्ने माग गरी प्रदर्शन गरेको हो।

नेपाल विद्यार्थी सङ्घका महामन्त्री दीपक भट्टराईले सरकारले विद्यार्थीहरूलाई प्राथमिकताका साथ कोरोनाविरुद्धको खोप नदिए सडक आन्दोलन गर्ने बताए। विद्यार्थीहरूलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउन माग गर्दै पहिलो चरणमा शान्तिपूर्ण रूपमा प्रदर्शन गरी सरकारको ध्यानाकर्षण गराएको महामन्त्री भट्टराईले बताए। विद्यार्थीहरूले ‘नेपाल विद्यार्थी सङ्घको सरोकार, विद्यार्थीलाई कोभिड–१९ भ्याक्सिनको पहिलो अधिकार’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए।

अन्य सम्बन्धित समाचार:  कांग्रेस संसदीय दलको बैठकबाट किन निस्किए देउवा?

विद्यार्थीहरूले ‘अबको खोप हाम्रो हो’, ‘विद्यार्थीले लाउने खोप कहिले आउने’, ‘नेविसङ्घको सरोकार हाम्रो खोप हाम्रो अधिकार’, ‘अबको खोप विद्यार्थीको अधिकार’ लगायतका नाराबाजीसमेत गरेका थिए। यस्तै ‘विद्यार्थी नै हो यो देशको आधार, अबको खोप हाम्रो अधिकार’, ‘भविष्यको कर्णधारले भविष्यमा नै हो त खोप पाउने ?’, ‘खोपको अधिकार सबैलाई’ लगायत लेखिएको विभिन्न प्लेकार्डसमेत बोकेका थिए