लोकसेवा तयारी कक्षा सञ्चालन

पोखरा। कास्कीको माछापुच्छ्र«े गाउँपालिकाले निजामती सेवामा महिला सहभागिता बढाउन लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ। उपाध्यक्षसँग महिला तथा बालबालिका कार्यक्रमअन्तर्गत गाउँपालिकाको भवनमा उक्त तयारी कक्षा सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिइन्। “गाउँपालिकाका महिलालाई सवल र सक्षम बनाउन हामीले उपाध्यक्षसँग महिला तथा बालबालिका कार्यक्रम सञ्चालन गरेका छौँ, यसैअन्तर्गत अहिले निजामती क्षेत्रमा महिला सहभागिता बढाउन लोकसेवा तयारीका लागि निःशुल्क कक्षा सञ्चालन गरेका हौँ”, दवाडीले भनीन।

दवाडीका अनुसार लोकसेवा तयारीका लागि रु तीन लाख बजेट छुट्याइएको छ। यसको साथै गाउँपालिकाका नौ वटा वडामा कोभिड– १९ बाट प्रभावित महिला तथा बालबालिकालाई राहत कार्यक्रम र सीपमूलक तालीम पनि सञ्चालनको योजना रहेको उनले जानकारी दिइन्। महिला तथा बालबालिकाका लागि रु २४ लाख बजेटबाट कार्यक्रम गरिरहेको र प्रत्येक वडाका लागि रु एक÷एक लाख बजेट छुट्याइएको उनले बताइन्।

अन्य सम्बन्धित समाचार:  हात्तीपाईले रोगको सर्वेक्षण र परीक्षण सुरु

गाउँपालिकाका महिला तथा बालबालिका समाजकल्याण शाखा प्रमुख रिता थापाले १८ वर्षमाथि ३६ वर्षसम्मका ३५ महिलाको सक्रिय सहभागिता रहेको जानकारी दिइन्। उनका अनुसार गत माघ २४ गतेदेखि निरन्तर बिहान ८ः०० देखि १०ः०० बजेसम्म र बिदाको दिन १०ः०० देखि ४ः०० बजेसम्म कक्षा सञ्चालन हुँदै आएको छ। नायब सुब्बा र खरिदार तहका लागि सञ्चालित तयारी कक्षामा प्रथमपत्र र द्वितीयपत्रकै कोर्षको पढाइ सञ्चालन गरिएको छ

उक्त गाउँपालिका वडा न ४ कि ३४ वर्षीय गीता कुँवरले तयारी कक्षाले परीक्षाका लागि आत्मविश्वास बढेको बताइन्। “मलाई पहिलेदेखि लोकसेवाको परीक्षा दिन मन थियो तर खासै अनुभव थिएन, अहिले आफ्नै गाउँपालिकाले तयारी कक्षा सञ्चालन गरेपछि पढ्ने उत्साह मिलेको छ।” कुँवरले नासु र खरिदार दुवैका लागि परीक्षा दिने तयारी गरेको बताइन्। अधिकांश विवाहित महिलाको सहभागिता रहेको तयारी कक्षामा अध्ययन सामग्री र पुस्तक पनि गाउँपालिकाले उपलब्ध गराएको छ।

अन्य सम्बन्धित समाचार:  नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय गणित सम्मेलन हुँदै