प्रजातन्त्र दिवस विशेष: एक कमाण्डरको सम्झना

काठमाडौँमा जन्मे पनि शहीद थीरबम मल्लको बाल्यकाल बागलुङको गलकोटमा बित्यो। गलकोटका अन्तिम राजा भरतबमका माइला छोरा उहाँ सानैदेखि निर्भिक, न्यायप्रेमी र सत्यको पक्षपाती थिए।

त्रिचन्द्र कलेजमा आइएस्सी सकेर थीरबम सैन्य तालिमका लागि भारतको देहरादुन पुगे। त्यसताका सरकारले सेनामा आउन चाहने युवालाई छनोट गरेर पढ्न भारत पठाउँथ्यो। थीरबम भने व्यक्तिगत पहल र खर्चमा देहरादुन गए।

सैनिक शिक्षालयको अध्ययन सकेर नेपाल फर्कने सुरसारमा थिए,उनी। त्यही बेला नेपाली काँग्रेसले जहानियाँ राणा शासनविरुद्ध सशस्त्र क्रान्ति गर्ने निर्णय गर्यो। विसं २००७ कात्तिक २१ गते क्रान्तिको घोषणा भयो। काँग्रेस मुक्ति सेना लडाईंमा होमियो। काँग्रेसले सशस्त्र क्रान्तिको घोषणा र तयारी पनि भारतबाटै गरेको थियो।

छब्बीस वर्षीय थीरबम पनि सशस्त्र क्रान्तिमा लाग्ने अठोटसहित देहरादुनबाट कोलकता पुगे। त्यहाँ हतियारको बन्दोबस्ती र लडाईंको तयारी गरेपछि उहाँ नेतृत्वको मुक्ति सेनाको टोली वीरगञ्ज मोर्चामा खटियो। तीन ठूला शहर विराटनगर, वीरगञ्ज र भैरहवामा विजय प्राप्त गर्ने लक्ष्यससहित मुक्ति सेनाले तिहारको लक्ष्मी पूजाका दिन एकैसाथ लडाईं शुरु गर्यो। कात्तिक २६ गते भाइटीकाका दिन मुक्ति सेनाले वीरगञ्ज कब्जा गर्यो । दुर्भाग्य, विराटनगर र भैरहवामा भने उसले हार व्यहोर्नुपर्यो।

मुक्ति सेनाले वीरगञ्ज मोर्चामा सफलता त पायो तर आफ्नो कुशल र साहसी सैन्य कमाण्डरलाई गुमाउनुपर्यो। सरकारी फौजसँगको लडाईंमा भाइटीकाकै दिन थीरबमको शहादत भयो। जहानियाँ निरङ्कुश राणाशासनविरुद्धको सशस्त्र क्रान्तिको उनी पहिलो शहीद बने। थीरबम काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका विश्वासपात्र थिए नाताले अर्का संस्थापक नेता शुवर्णशमशेर राणाका सहोदर भानिज।

राज परिवारको सदस्य भएर पनि उनी प्रजातन्त्र प्राप्तिको सङ्घर्षमा होमिए र परिवर्तनका खाँतिर आफूलाई उत्सर्ग गरे। “उनमा बुबा भरतबम र मामा सुवर्णशमशेरको विशेष प्रभाव थियो, बिपी कोइरालादेखि काँग्रेसको तत्कालीन नेतृत्वसँग नजिक भएका कारण पनि क्रान्तिमा लाग्ने प्रेरणा जाग्यो”, थीरबमका नाति मञ्जेशबम मल्लले भने।

अन्य सम्बन्धित समाचार:  नेपाल समुहका चार नेता बालुवाटारमा, महासचिव पोखरेल राष्ट्रपति भेट्न शीतल निवासमा

तत्कालीत चौबिसे राज्यअन्तर्गत गलकोट राज्यका अन्तिम राजा एवं थीरबमका पिता भरतबम स्वयं प्रजातन्त्र पक्षधर थिए। प्रजातन्त्रको उदयपछि विसं २०१५ मा भएको निर्वाचनमा उनी विजयीसमेत भएका थिए। पहिलो जननिर्वाचित सरकारले राजा, रजौटा उन्मूलन गर्ने निर्णय गर्यो । त्यसका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लाने उनी नै थिए।

शहीद थीरबम मेमोरियल फाउण्डेशन’का अध्यक्षसमेत रहनुभएका मञ्जेशबमका अनुसार सशस्त्र क्रान्तिका बेला भरतबमका जेठा छोरा लक्ष्मणबमसमेत केआइसिंहको नेतृत्वमा भैरहवामा भएको लडाईंमा सहभागी भएकाे बताइन्छ। “नेपालको प्रजातान्त्रिक आन्दोलनमा राजा भरतबम र परिवारको उल्लेख्य देन छ”, उनले भने।

राज्यको नजरमा ओझेलिँदै थीरबम बहुदलअघि बरु प्रजातान्त्रिक आन्दोलनका मुख्य चार शहीदपछि पाँचौँ शहीदका रुपमा राज्यले सम्मान दिए पनि अहिले त्यसो हुन नसकेको थीरबमका परिवारजनको गुनासो छ। नाति एवं फाउण्डेशनका अध्यक्ष मञ्जेशबमले भने, “परिवारका तर्फबाट २०५३ सालमा स्थापित गरिएको फाउण्डेशन क्रियाशील छ, त्यसमार्फत शिक्षा र खेलकूदका क्षेत्रमा काम गरिरहेका छौँ, राज्यका निकायबाट कुनै सहयोग छैन।”

फाउण्डेशनमार्फत गलकोट नगरपालिका–५ हरिचौरमा रहेको पृथ्वी माध्यमिक विद्यालय र वडा नं ३ हटियास्थित गलकोट माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्तिदेखि शैक्षिक सामग्री सहयोग वर्षेनी हुँदै आएको छ। यस्तै नेपाल ब्याडमिन्टन सङ्घले ‘शहीद थीरबम मल्ल कप’ ब्याडमिन्टन प्रतियोगिता चलाउँदै आएको छ। थीरबमका नाममा गलकोटमा विद्यालय, पुस्तकालय पनि स्थापित छ।

तत्कालीन गलकोटे राजा भरतबम र रानी चैतन्य राजेश्वरीले छोरा थीरबमको स्मृतिमा विसं २००९ सालतिर हरिचौरमा ‘शहीद थीरबम पुस्तकालय’ स्थापना गरेका थिए।  विगतको द्वन्द्वकालपछि उक्त पुस्तकालय व्यवस्थित रुपमा सञ्चालन हुन नसकेको वडा नं. ५ का अध्यक्ष नारायणध्वज मल्लले बताए।

अन्य सम्बन्धित समाचार:  राष्ट्रियसभा उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौँमा रहेको फाउण्डेशनमार्फत केही गतिविधि भए पनि प्रजातान्त्रिक योद्धाको सम्मानमा राज्यका तर्फबाट कुनै चासो नदेखाइनु दुःखद् भएको उनको भनाइ छ।

“प्रजातन्त्रकै लागि लड्दालड्दै थीरबम शहीद हुनुभयो, यो व्यवस्था ल्याउन धेरैले बलिदान दिएका छन्, शहीदको सम्मानमा राज्य चुक्नुहुन्न”, वडाध्यक्ष मल्लले भने। बागलुङ नगरपालिका–१ मा रहेको शहीद उद्यानमा थीरबमको सालिक राखिए पनि त्यसको समेत उचित रेखदेख तथा सम्भार हुन सकेको छैन। भारतको सैन्य शिक्षालयमा अध्ययन गर्ने पहिलो नेपाली थिए,थीरबम।

सत्ताको विरुद्धमा नलागेको भए उहाँमा उपल्लै पदमा पुग्ने हैसियत थियो। सशस्त्र क्रान्तिताका राजनीतिक नेतृत्वमा अरु नै रहे पनि सैन्य फाँटमा प्रमुख कमाण्डर भएर थीरबम खटेको इतिहासका अध्येता काजी गाउँले श्रेष्ठले बताए। “प्रतिक्रियावादी कित्तामा नगएर प्रजातन्त्र रोज्नुभयो, क्रान्तिप्रति दृढ र खास व्यक्तित्व थीरबममा थियो”, नागरिक समाजका संयोजकसमेत रहेका श्रेष्ठले भने, “वीरगञ्ज मुक्ति सेनाको कब्जामा आइसकेको थियो, अन्तिममा सत्ताका जासुसी सेनाले उहाँलाई झुक्काएर गोली हाने ।”

सुवर्णशमशेरसँगको निकट नाताका कारण पनि सशस्त्र क्रान्तिमा लाग्न थीरबमलाई प्रेरणा मिलेको उनको भनाइ छ। भारतको, बैरगनियामा भएको नेपाली काँग्रेसको सम्मेलनले विसं २००७ कात्तिकमा सशस्त्र क्रान्तिको घोषणा गरेको थियो। सशस्त्र क्रान्तिकै जगमा देशव्यापीरुपमा चर्किएको आन्दोलनको उत्कर्षस्वरुप विसं २००७ मा राणाशासनको अन्त्य र प्रजातन्त्रको उदय भयो। सोही ऐतिहासिक जनक्रान्तिका एक अमर योद्धा हुन्, थीरबम। विसं १९८१ भदौ ३१ मा जन्मनुभएका उनी प्रजातन्त्रप्रेमीमाझ सदा बाँचिरहनेछन्।