प्रजातन्त्र नेताहरूको शासन प्रणाली मात्रै नभई सामाजिक जीवनपद्धति होः पूर्वराजा

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषका नेताहरूको शासन प्रणाली मात्रै नभई सामाजिक जीवनपद्धति समेत भएको बताएका छन्।

७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै शाहले मुलुक निषेध र विभेदको राजनीतिले दिनप्रतिदिन जटिलतातर्फ फस्दै गएको बताएका सन्देशमा उल्लेख गरिएको छ।

उनले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको पनि स्मरण गराएका छन्।

‘नेपाल जनता र राजाबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाटै हुने यर्थाथको अवज्ञाले निषेध र विभेदको राजनीति सुरु गरिएकोमा मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको महसुस आम नेपालीले गरिरहेका छन्’, पूर्व राजा शाहले दलहरूप्रति संकेत गर्दै भनेका छन् ।

प्रजातन्त्र आधुनिक शासन पद्धतिको सर्वोत्तम विधि व्यवस्था भएको भन्दै शाहले विश्वमान्य प्रजातन्त्रको मान्यता अनुरूप नेपालमा प्रजातान्त्रिक विधि व्यवहार अघि बढोस् भन्ने आकांक्षा सबैको रहेको बताएका छन् ।

‘प्रजातन्त्र प्राप्तिको ७० वर्षपछि आएर पनि हामी प्रजातन्त्रकै विषयमा विवाद, बहस, द्वन्द्वमै व्यस्त र ग्रस्त छौँ’, शाहले असन्तुष्टि जनाउँदै भनेका छन्, ‘प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट पक्ष हो । जनताको आस्था, चाहाना र जनभावना अन्ततः अमिर रहन्छ । यसलाई मेट्न खोजेर, बटारेर मेटिँदैन बटारिँदैन ।’

अन्य सम्बन्धित समाचार:  कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था स्थिर