वागमती प्रदेशसभा बैठक तत्काल बोलाउन माग

हेटौंडा। वाग्मती प्रदेशका प्रतिपक्षी दलहरूले तत्काल प्रदेशसभा बैठक बोलाउन माग गरेका छन्। मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव तत्काल टुंगोमा पुर्‍याउन जरुरी रहेको भन्दै प्रतिपक्षी दलहरूले बैठक राख्न सभामुख सानुकुमार श्रेष्ठलाई आग्रह गरेका हुन्।

प्रमुख प्रतिपक्षी कांग्रेस वाग्मती प्रदेश संसदीय दलले विज्ञप्ति जारी गर्दै प्रदेशसभाका बैठक लगातार स्थगित गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संसदीय दलका सचिव निमा लामाद्वारा जारी विज्ञप्तिमा फागुन ५ गते बस्ने तय भएको प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित गरिएको भन्दै तत्काल प्रदेशसभा सञ्चालनको माग गरिएको छ।

सरकारको दबाबमा सभामुख श्रेष्ठले पटक–पटक प्रदेशसभाको बैठक स्थगित गरेर संसदीय मूल्य र मान्यताको खिल्ली उडाएको उनीहरूको आरोप छ।

नेकपा दाहाल–नेपाल समूह, कांग्रेस र सत्तारूढ नेकपाबीच गत मंगलबार प्रदेशसभा सचिवालयमा बैठक सञ्चालन गर्ने सहमति भए पनि सूचना टाँसेर ‘विशेष कारण’ भन्दै स्थगित गरेकामा कांग्रेसले असहमति जनाएको हो।