प्रदेश प्रमुख परियारलाई हटाएकोप्रति कांग्रेसको आपत्ति

काठमाडौै। सरकारले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरी नयाँ नियुक्ति गरेको प्रति आपत्ति जनाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ती जारी गर्दै प्रदेश प्रमुख बर्खास्ती र नयाँ नियुक्तिको विरोध गरेका छन्। ‘सरकारको सिफारिसमा प्रदेश नम्बर २ का प्रदेश प्रमुखको आज गरिएको बर्खास्ती र नयाँ नियुक्तिको नेपाली कांग्रेस विरोध र भत्र्सना गर्दछ’ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

कांग्रेसले यस अघि पनि प्रदेश प्रमुख हटाएको विषयलाई विज्ञप्तीमा उठाएको छ। ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई हटाएका थिए। ‘अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत बर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको थियो,’ शर्माले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘आज फेरि त्यही प्रवृत्ति दोर्होयाएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने कर्म गरेको छ भने निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ।’ कांग्रेसले काम चलाउ स्थितिमा पुगेको सरकारले बर्खास्त, नियुक्तिजस्ता काम गर्न नमिल्ने जानकारी दिएको छ।

अन्य सम्बन्धित समाचार:  विप्लव र सरकारबीचको सहमतिपत्र सार्वजनिक गर्ने कार्यक्रम सुरु