नेपालगन्ज–पोखरा हवाइ सेवा सुरु

नेपालगन्ज। नेपालगन्ज–पोखरा विमान सेवा आजबाट सुरु भएको छ। नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) बाँके र नाट्टा गण्डकी प्रदेशको पहलमा सीता एयरको १८ सिटे विमानबाट चार्टर उडान सुरु भएको हो। त्यही विमानले पोखराबाट बाँके र बर्दियाका पर्यटकीय क्षेत्र घुम्ने पर्यटकका लागि उडान भर्नेछ। यो उडानका लागि नाट्टाले एकतर्फी भाडा ४ हजार नौ सय ९५ रुपैयाँ तोकेको छ। पर्यटन व्यवसायीले पर्यटकका लागि सहुलियत दरको ३ दिने प्याकेजको व्यवस्था गरेका छन्।

नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलका अनुसार चार्टर विमानले हरेक हप्ताको आज र आइतबार नेपालगन्ज–पोखरा र पोखरा–नेपालगन्जको विमान उडान हुनेछ। ‘एक महिनाका लागि १६ वटा विमान उडानका लागि नाट्टाले सीता एयरसँग सम्झौता गरिसकेको अध्यक्ष सिग्देलले बताए।
आज दिउँसो १ बजे नेपालगन्ज विमानस्थलबाट पोखराका लागि सीता एयरको विमानले पहिलो पटक उडान भरेको हो। नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा धवल शम्शेर राणाको नेतृत्वमा बाँके र बर्दियाका १८ जना पर्यटन व्यवसायी पोखरा पुगेका थिए।

अन्य सम्बन्धित समाचार:  शेयर बजार २१.५८ अंकले घट्यो

नगर प्रमुख राणाले वर्षौदेखि उडानको विषयमा चर्चा भए पनि पहिलो पटक विमान सेवा सुरु हुनुलाई ऐतिहासिक क्षण भएको बताए। पोखरा घुम्न चाहने स्वदेशी र भारतीय पर्यटकका लागि सस्तोे र छोटो रुट भएको बताउदैं यसबाट बाँके र बर्दियाका पर्यटकीय क्षेत्रहरुको विकासमा पनि मद्दत पुग्ने नगर प्रमुख राणाले बताउनु भएको छ। उनले यसपछि नेपालगन्ज–दिल्ली उडानका लागि पहल गरिने बताए।