कालोपत्रे हुँदै कोटबाडा विमानस्थल

कालीकोट। कालीकोट जिल्लाको नरहरिनाथ गाँउपालिका–१ मा रहेको कोटबाडा सुनथराली विमानस्थल कालोपत्रे गर्ने काम थालिएको छ। ३८ वर्षदेखि निर्माणधिन विमानस्थल कालोपत्रे सुरु भएको हो।

चालु आर्थिक वर्षभित्रै नियमित उडान गर्ने गरी तयारीका साथ विमानस्थल कालोपत्रे भइरहेको छ। विमानस्थलको घेरबार र धावनमार्ग निर्माण गर्ने काम सकिसकेको विमानस्थलका निर्माण व्यवसायी पदमबहादुर खड्काले बताएका छन्। “पिच गर्ने काम सुरु गरेका छौँ। निर्माणमा अवरोध नभएमा आउने वैशाखसम्म विमानस्थलको काम पुरा गरेर हस्तान्त्रण गर्ने तयारी छ।” उनले भने, “सरकारसँग १२ करोड ३५ लाखको लागतमा १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी गत साउनमा ठेक्का सम्झौता गरेको थियौं।”

विसं २०७३ माघ २९ गते परीक्षण उडान भएको विमानस्थलमा अहिलेसम्म नियमित उडान हुनसकेको छैन्। विमानस्थलको कालोपत्रे गर्न कार्य भइरहेकाले नियमित उडानका लागि अब धेरै समय कुर्ने नपर्ने गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताए। “विमानस्थलको काम हालसम्म जम्मा ६५ प्रतिशत सम्पन्न भइसकेकोे छ”, उनले बताए। एक पटक परीक्षण उडान भएको र त्यसभन्दा यता नियमित उडान हुन नसकेको उनको भनाइ थियो। विमानस्थल कालोपत्रे भए चाँडै नियमित उडानका लागि पहल थालिने गाउँपालिका अध्यक्ष विष्टले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  बारेकोटमा भेटिए ८८ प्रजातिका चरा