विराटनगरमा ओली समूहले प्रदर्शन गर्दै, दुई लाख कार्यकर्ता उतार्ने दाबी

विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओली पक्षले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ। प्रतिनिधिसभा विघटनपछि वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले आज विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको हो।

विराट नर्सिङ्होम नजिकै रहेको खाली जग्गामा आयोजना हुने जनसभामा दुई लाख समर्थक उतार्ने ओली पक्षको दाबी छ। सडकमा आमसभा गर्दा ट्राफिक जाम हुने भएपछि अस्पताल छेउको खाली जग्गामा सभास्थल बनाइएको आयोजक कमिटीले जनाएको छ। प्रदेश १ स्तरीय आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओली, रामबहादुर थापा बादल, सुवास नेम्वाङ र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने छन्।
शनिबार दिउँसो करिब १२ बजेबाट सुरु हुने सभामा प्रदेशबाट २ लाख जना सहभागी हुने नेकपा केन्द्रीय सदस्य विनोद ढकालले बताएका छन्। उनका अनुसार जनसभाबाट गाउँ–गाउँबाट कार्यकर्ता ल्याउनका लागि एक हजार १५ बसको व्यवस्था गरिएको छ।

अन्य सम्बन्धित समाचार:  डा. केसीलाई ओलीको कटाक्ष–मेडिकल कलेज बन्छ भनेर कोही अनसन बस्छन्

विराटनगरको विभिन्न ६ स्थानबार्ट याली निस्कनेछन्। ‘दुई लाख समर्थक सहभागी हुने हाम्रो अपेक्षा छ,’ ढकालले भने ‘मोटरसाइकल मात्रै १० हजार आउछन्, निजी सवारी पनि धेरै आउछन्।’ केही दिन अघि लुम्बिनीमा शक्ति प्रदर्शन गरेको ओली समूहले निर्वाचनको सन्देश दिनका लागि विराटनगरमा सभा आयोजना गरेको हो। प्रधानमन्त्री ओली बिहान ११ बजे आएर बेलुका साढे ४ बजेको फ्लाइटमा फर्कने कार्यतालिका रहेको छ।