काठमाडौं। काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका विभिन्न ठाउँमा आज बत्ती जाने भएको छ। लगनखेल वितरण केन्द्रको रेडियो नेपाल फिडरलाई सटडाउन गरेर मर्मतको काम गर्नुपर्ने भएकाले बिहान ११ देखि दिउँसो २ बजेसम्म यस आसपासका क्षेत्रमा बत्ती बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। सो समयमा सातदोबाटो, रेडियो नेपाल, कृषि अनुसन्धान, इसिमोड, खुमलटार, प्रचण्ड निवास, धापाखेल, भेल्पा, जेम्स, कान्तिपुर इन्जिनियरिङ, नागदहलगायत क्षेत्रमा तीन घण्टा बत्ती जाने छ।
यसैगरी लगनखेल वितरणकेन्द्रको जावलाखेल फिडरअन्तर्गत पर्ने पाटन हस्पिटल, कुमारीपाटी, मानभवन, जावलाखेल र ए.भी.एम. चोकलगायत क्षेत्रमा दिउँसो १२ देखि २ बजेसम्म विद्युत् आपूर्ती कटौती हुनेछ। यस्तै पुल्चोक वितरण केन्द्रको पाटन फिडर अन्तर्गत पर्ने रियो अपार्टमेन्ट क्षेत्रमा ११ केभी क्षमताको लाइनको काम गर्नुपर्ने भएकाले हनुमानथान, प्रसूति गृह, रियो अपार्टमेन्ट, शङ्खमूल, यूएनपार्क, चाकुपाट, पुलचोक क्याम्पस, भाटभटेनीलगायत क्षेत्रमा बिहान ११ देखि दिउँसो २ बजेसम्म पनि तीन घण्टा बिजुली जाने छ।
प्राधिकरणका अनुसार भक्तपुर वितरण केन्द्रको कटुन्जे फिडरमा पर्ने वीर नेक कलेज नजिकै ट्रान्सफर्मर जडानलगायतको काम गर्नुपर्ने भएकाले इटापाखे, सल्लाघारी, केएमसी हस्पिटल, दुवाकोट हाइट, एपी भैरव र झौखेल क्षेत्रमा बिहान १० देखि १२ बजेसम्म बत्ती जाने छ। यसैगरी प्राधिकरणले आज काठमाडौंको बुढानिलकण्ठ उपवितरण केन्द्रको चुनिखेल फिडरअन्तर्गत पर्ने हात्तीगौँडा टेलिकम क्षेत्रमा मर्मतको काम गर्ने भएकाले स्पेशल चोक, हात्तीगौँडा, ज्ञानेश्वरलगायत क्षेत्रमा दिउँसो १ बजेदेखि २ बजेसम्म विद्युत् आपुर्ती बन्द हुनेछ।