इंग्लिस प्रिमियर लिग: चेल्सी बराबरीमा रोकियो

इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सी बीचको खेल बराबरीमा रोकिएको छ। चेल्सीले घरेलु टोली साउथह्याम्टनसँग १–१ गोलको बराबरी खेलेको हो।

साउथह्याम्टनमा शनिबार राति भएको खेलमा चेल्सीले एक गोलले पछि परेको अवस्थामा बराबरीको नतिजा निकालेको हो। साउथह्याम्टनका ताकुमी मिनामिनोले गोल गर्दा चेल्सीका मासन माउन्टले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए।

सेन्ट मेरीज स्टेडियममा घरेलु टोली साउथह्याम्टनले खेलको ३३औं मिनेटमा मिनामिनोको गोलबाट पहिलो हाफमा १–० को अग्रता लिएको थियो। उनले नाथन रेडमन्डको पासलाई सदुपयोग गरेका थिए।

५४औं मिनेटमा मासन माउन्टले पेनाल्टीमार्फत बराबरी गोल फर्काए। पेनाल्टी बक्समा ड्यानी इंग्सले मासन माउन्टलाई अनावश्यक फल गरेपछि रेफ्रीले चेल्सीलाई पेनाल्टी दिदा माउन चुकेनन्।

अन्य सम्बन्धित समाचार:  सहिद स्मारक ‘बी’ डिभिजन लिग: दुई खेल हुँदै

बल पोसेसनमा घरेलु टोलीलाई लगातार दवावमा राखेपनि चेल्सीले थप गोल गर्न नसक्दा अंक बाड्न बाध्य बन्यो।

यो बराबरीसँगै चेल्सी २५ खेलबाट ४३ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ। चेल्सी शीर्षस्थानको म्यानचेस्टर सिटीसँग १३ अंकले पछि छ। दोस्रो र तेस्रो स्थानको म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीसँग३ अंकले पछि छ। साउथह्याम्टन २४ खेलबाट ३० अंक जोडेर १३औं स्थानमा छ।