म्यानमारमा सैनिक कू विरुद्धको प्रदर्शनमा दुईजनाको मृत्यु

काठमाडौं। म्यानमारमा सैन्य कू विरुद्ध भइरहेको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ। म्यानमारमा फेब्रुअरी १ मा सेनाले सैनिक कू गरी सत्ता आफ्नो हातमा लिएपछि सैनिक शासनविरुद्ध लगातार प्रदर्शन भइरहेको छ।

सो क्रममा भएको पछिल्लो प्रदर्शनमा सेनाले प्रदर्शनकारीलाई रोक्नका लागि गोली समेत चलाएको बताइएको छ। सो क्रममा दुई जनाको मृत्यु भएको छ भने अन्य २० जना भन्दा बढी घाइते भएका छन्।

सेनाले गत वर्षको नोभेम्बर ८ मा भएको चुनावमा धाँधली भएको आरोप लगाएको थिय। निर्वाचनमा नेतृ आङ साङ सूचीको पार्टीले बहुमत हासिल गरेको थियो। तर संसदको पहिलो बैठक बस्ने दिन नै नेतृ सूची र राष्ट्रपति तथा प्रदेशका मुख्यमन्त्रीसहित सबै जननिर्वाचित नेताहरुलाई पक्राउ गरेर सेनाले कू गरेको थियो।

अन्य सम्बन्धित समाचार:  उत्तर कोरियाले पेट्रोलियम आयातमा तोकिएको सीमा उल्लङ्घन

सेनाले सत्ता हातमा लिएको विरोधमा म्यानमारमा सर्वसाधारण, पेशाकर्मी तथा बौद्ध भिक्षुहरु समेत प्रदर्शनमा सहभागी भइरहेका छन्।

सैनिक कू विरुद्ध प्रदर्शन तीव्र बन्दै गएका बेला सुरक्षाकर्मीले बल प्रयोग गर्न थागेको हो। म्यानमारको दोस्रो ठूलो शहर मान्दालायले भएको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दा ३६ वर्षका एक पुरुष र १८ वर्षमुनिका एक किशोरको मृत्यु भएको हो।