ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

मोरङको उर्लाबारीमा शनिबार राति भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत उर्लाबारी नगरपालिका-४ भद्रमारी चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क १०३५ नम्बरको ट्रकसँग विपरीत दिशाबाट आउँदै गरेको को ३१ प ५१ नम्बरको स्कुटर ठोक्किएको हो।

दुर्घटनामा परेर स्कुटरमा सवार उर्लाबारी–८ सिसौलीका २३ वर्षीय प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेलको ज्यान गएको जानकारी राईले दिए। उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई सडकबाट उठाएर उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएको थियो।

दुवै जनाको उपचारका क्रममा राति ८:१५ बजेतिर मृत्यु भएको जानकारी डीएसपी राईले दिए।

अन्य सम्बन्धित समाचार:  झापामा पहिलो रबर उद्योग सञ्चालनको तयारी