सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले शुक्रबार अन्त्येष्टि गरिएकी बैतडीकी किशोरी भागरथी भट्टको सामुहिक बलात्कारपछि हत्या भएको दाबी गरेको छ।
माघ २१ गते विद्यालयबाट घर फर्कँदै गरेकी भट्टको स्थानीय किशोर दिनेश भट्टले नजिकैको लवलेक जंगलमा पहिले घाइते बनाई त्यसपछि बलात्कार र अन्तमा हत्या गरेको पुष्टि प्रहरीको अनुसन्धानबाट भएको थियो।
त्यही पुष्टिपछि दिनेशलाई प्रहरीले सार्वजनिक गरेर कानुनी प्रक्रिया अघि बढाएको छ। दिनेशले आफैँले बलात्कारपछि हत्या गरेको साविती बयान जिल्ला सरकारी वकिलको कार्यालयमा बाबुकै सामुन्ने पनि दिएपछि शुक्रबार भागरथीको अन्त्येष्टि गरिएको छ।
तर विप्लव नेतृत्वको नेकपाले भने प्रहरीको भन्दा फरक दाबी गर्दै विज्ञप्ति नै निकालेको छ। बैतडीको दोगडा केदार गाउँपालिका कमिटी इञ्चार्ज आजादले शनिबार जारी गरेको विज्ञप्तिमा पार्टीको अनुसन्धानमा दिनेश भट्टसहित अरुले पनि भागरथीमाथि सामूहिक बलात्कारपछि हत्या गरिएको उल्लेख छ।