विप्लवको प्रतिबन्ध हटाएर भोलि वार्ताको तयारी

काठमाडौं। सोमबार बस्ने मन्त्रिपरिषद बैठकले प्रतिबन्ध हटाउने र सरकारी वार्ता टोली गठन गर्ने भएको छ। नेपाल सरकारले विप्लव पक्षको नेकपा माओवादीमाथि लगाइएको प्रतिबन्ध भोलि हटाउने भएको छ। सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले भोलि सो समूहमाथिको प्रतिबन्ध हटाउने भएको बालुवाटार समाचार स्रोतले जनाएको छ।

समाचार स्रोतका अनुसार सो समूहसँग वार्ता गर्न भोलि नै सरकारी वार्ता समिति गठन हुने पनि बताइएको छ। प्रधानमन्त्री केपी ओलीले हालै विप्लव माओवादीलाई वार्ताको टेबलमा ल्याइने जानकारी दिए। सरकारको यही निर्णय बमोजिम नै हालैमात्र मन्त्री मणि थापाले सो माओवादी समूहका नेता हेमन्तप्रकाश ओलीसँग नख्खु कारागारमै पुगेर भेट गरेको थियो। सोही बमोजिम सरकारले तयारी थालेपछि उक्त माओवादी समूहका नेता नेत्रविक्रम चन्द विप्लवले हिजोमात्र विज्ञप्ति प्रकाशन गरेर आफूहरु वार्तामा आउने बताएका थिए।

अन्य सम्बन्धित समाचार:  मन्त्रिपरिषद बैठकः फागुन २३ गते संसद बोलाउन सिफारिस गर्ने निर्णय

उता विप्लवले भने संसदीय व्यवस्था नमान्ने बताउँदै आएकोले त्यसको विकल्प सरकारले वार्ताको टेबलबाट खोज्ने भएको छ। संसदीय व्यवस्थाको विकल्पमा जनवादी गणतन्त्रको लागि जनमत संग्रहमा जान सकिने गरी वार्ताको एजेण्डा बनाइने भएको बुझिएको समाचार स्रोतले जनाएको छ।