मेलम्ची सुरुङ आज परीक्षण गरिँदै

काठमाडाैं। मेलम्ची खोलाको पानी काठमाडौं ल्याउन सोमबारदेखि सुरुङ परीक्षण गरिँदै छ। मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको सुरुङ खण्डमा पानी पथान्तरण गरी परीक्षण गरिँदै छ । तीन चरणमा पथान्तरण गरी परीक्षण सफल भएपछि मेलम्चीको पानी काठमाडौँ आउनेछ।

परीक्षण गर्न न्यूनतम दुुई महिना लाग्छ। मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी तथा खानेपानीमन्त्री मणिचन्द्र थापाले आज मेलम्ची पुगेर पानी पथान्तरणको निरीक्षण गर्ने कार्यक्रम रहेको खानेपानी मन्त्रालयले जनाएको छ। सो अवसरमा मन्त्री थापाले समग्र आयोजनाको प्रगतिका बारेमा निरीक्षण गर्ने कार्यक्रम रहेको छ।

आज दिउँसो ११ः०० बजेबाट पथान्तरणका लागि सुरुङमा पानी पठाइने कार्यक्रम तय गरिएको छ। मेलम्चीमा सुरुङ प्रवेशद्वार (गेट)को जडान र फिनिसिङ सम्पन्न भएपछि पानी पथान्तरण गर्नुअघि प्राविधिक टोलीमार्फत अनुगमन गरिएको थियो। आयोजनाको प्रमुख दाता एसियाली विकास बैङ्क (एडीबी)ले पानी पथान्तरणअघि विज्ञहरूबाट अनुगमन गराएर थप काम गर्नुपर्ने सुझाव दिएपछि पथान्तरणका लागि करिब दुुई महिना ढिला भएको थियो।

अन्य सम्बन्धित समाचार:  पाल्पामा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु

मेलम्चीको पानी काठमाडौँ आउन कम्तीमा पनि अझै दुुई महिना लाग्ने देखिन्छ। मेलम्ची खानेपानी समितिका अनुसार तीन चरणमा पथान्तरण गरिनेछ। पहिलो चरणमा सुरुङमा पानी पठाएर होल्ड (पथान्तरण) गरिनेछ। उक्त पानी सुरुङबाट बाहिर फालेर पुनः पथान्तरण गरिनेछ। तीन चरणको पथान्तरणपछि सुन्दरीजलमा पानी ल्याइनेछ।