कञ्चनपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्। प्रधानमन्त्री ओलीले आज दिउँसो वेदकोट नगरपालिका २ र ३ मा स्थापना गर्न लागिएको औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन्।
२५ वर्षअघिदेखि चर्चामा रहेको दैजी छेला औद्योगिक क्षेत्र बनाउन सरकारले ९ अर्ब रुपैयाँ बजेट छुट्याएको जनाइएको छ। २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीकै पालामा यहाँ औद्योगिक क्षेत्र बनाउने घोषणा भएको थियो। त्यसबेला बजेट विनियोजन गरिए पनि निकुञ्जको क्षेत्र पर्ने भए भन्दै काम सुरू भएको थिएन।
त्यसपछि पटक–पटक चुनावी एजेन्डा बनेको औद्योगिक क्षेत्र बनाउने काम पूरा भएको छैन। प्रधानमन्त्री आलीले शिलान्यास गरेपछि औद्योगिक क्षेत्र निर्माणको काम सम्पन्न हुने विश्वास गरिएको छ। उक्त क्षेत्र पूर्व पश्चिम महेन्द्र राजमार्गबाट ६ किलोमिटरको दूरीमा छ भने दैजी–जोगबुढा राजमार्गसँग जोडिएको पनि छ।