तीन दिनपछि नियन्त्रणमा आयाे लमजुङकाे आगो

लमजुङ। यहाँको एक जङ्गलमा आगलागी (डढेलो) भएको तीन दिनमा बल्ल नियन्त्रणमा आएको छ। गत शनिबार दिउँसोबाट आगलागी भएको लमजुङको बेँसीशहर नगरपालिका–६ रहेको शान्ति, सुलीकोट र भोटेचौर सामुदायिक वनको जङ्गलको लागेको आगो आज बल्ल नियन्त्रण आएको हो।

शनिबारबाट शुरु भएको आगलागीले यस नगरको वडा नं ६ यस जङ्गलमा ठूलो आगलागी भएको थियो। जङ्गलमा अचानक लागेको आगलागीको तेस्रो दिन आज नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको पहलमा आगो नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए।

उनका अनुसार ३० हेक्टर क्षेत्रफलमा आगलागी भएको छ। नगरपालिकाको दमकल, सुरक्षा निकायले अग्नि नियन्त्रण सामग्रीको माध्यमबाट आगो नियन्त्रणमा लिन सफल भएको प्रजिअ शर्माको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री कार्यालय अगाडि बादी समुदाय र प्रहरीबीच झडप

आगलागीबाट जङ्गली जनावर, चराचुरुङ्गी तथा जमीनमा घिस्रिएर हिँड्ने प्राणीको बासस्थान सखाप भएको छ। जङ्गलमा कसले लगाएको आगो भनेर पत्ता लागिसकेको छैन । यस जङ्गलमा गत वर्ष पनि आगलागी भएको थियो।