काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को बैठक बोलाएका छन्। ओलीले आज बिहान साढे ९ बजेका लागि बैठक बोलाउको निजी सचिवालयले जनाएको छ।
आजका लागि आह्वान गरिएको बैठक नियमित बैठक मात्रै भएको रक्षा मन्त्रालयका सचिव एवम् सुरक्षा परिषद्का सदस्य सचिवसमेत रहेका रेश्मीराज पाण्डेले बताएका छन्। नियमित बैठक भनिए पनि आजको बैठकलाई महत्त्वका साथ हेरिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच हिजो भेटवार्ता हुनुले पनि आजको बैठकलाई अर्थपूर्ण मानिएको छ। रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले भने बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र आउँदो वैशाखमा हुने चुनावलगायतका विषयमा छलफल हुने बताएका छन्।
बैठकमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी हुने बुझिएको छ। परिषद्मा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुख्य सचिव, प्रधानसेनापति सदस्य रहने र रक्षा मन्त्रालयका सचिव सदस्य सचिव भएर काम गर्ने व्यवस्था रहेको छ।
समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक प्रावधान छ।