बेलायतमा जारी लकडाउन चार चरणमा खुकुलो पारिने

काठमाडौं। कोरोनाभाईरस संक्रमणका कारण बेलायतले लामो समयदेखि कायम रहेको लकडाउन क्रमशः खुकुलो बनाउने जनाएको छ। देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोनसनले ४ चरणमा लकडाउन खुलाउने घोषणा गरेका हुन्।

लकडाउन हटाउने सरकारी योजनाबारे प्रधानमन्त्री जोनसनले संसदलाई जानकारी गराइसकेको बीबीसीले जनाएको छ । नयाँ घोषणाअनुसार मार्च ८ देखि स्कुलहरु खुलाइनेछ। त्यस्तै, मार्चको २९ देखि पार्क, निजी बगैंचालगायतमा ६ जनासम्म वा दुई परिवारको जमघटलाई अनुमति दिइनेछ।

टेनिस, बास्केटबल लगायत आउटडोर खेल स्थल पनि सुचारु गरिनेछ। अप्रिल १२ देखि सुरु हुने लकडाउन खुला गर्ने दोस्रो चरणमा हाल बन्द रहेका अत्यावश्यकबाहेकका सबै अत्याधिक जमघट हुने व्यवसाय सुचारु हुनेछन्

त्यसपछि सर्वसाधारणको अत्याधिक जमघट हुने सार्वजनिक स्थलहरु खुला गरिनेछ। अन्तिम संस्कारमा ३० र वैवाहिक समारोहमा १५ जनासम्मको नियम भने कायम रहनेछ। तेस्रो चरणमा मे १७ देखि धेरै व्यवसायहरु खुल्नका साथै ‘सामाजिक सम्पर्क’ माथिका अधिकांश बन्देज हटाइने भएको छ।

अन्य सम्बन्धित समाचार:  भारतको तमिलनाडुमा जारी लकडाउन ३१ मार्चसम्म थप

पब, रेष्टुरेन्ट लगायतको क्षेत्र पनि यही चरणमा सुचारु गरिंदै। यो चरणमा आउटडोर ६ जनासम्मको जमघट हुन सक्ने यसअघिको छुटलाई बिस्तार गर्दै ३० जनासम्मको जमघटलाई छुट दिइनेछ। खेलकुदका प्रतियोगिताहरुमा १० हजारसम्म दर्शक सहभागी हुन पाउनेछन्। यस्तै चौथो चरणमा जुन २१ देखि अहिले लागू सबै प्रतिवन्धहरु हटाइनेछ र बेलायत लकडाउनमुक्त हुने प्रधानमन्त्री जोनसनको योजना छ।