अदालतले सही फैसला गर्छः प्रचण्ड

काठमाडौं। नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गरेका छन्। आज काठमाडौंमा जनयुद्धको हस्ताक्षर नामक पुस्तकको विमोचन गर्दै प्रचण्डले संसद विघटनको मुद्दामा सही फैसला आउनेमा विश्वास रहेको जानकारी दिएका हुन्।

‘लडाइँ त विभिन्न ढंगले चलि नै रहेको छ, मैले यसो भन्नुको तात्पर्य हाम्रो अदालतमाथि विश्वास छैन भनेको होइन, अदालतमा मुद्दा छ, अदालतले सही फैसला गर्छ भन्नेमा विश्वास छ,’ प्रचण्डले भने। उनले प्रतिनिधिसभा विघटन पछि आफूहरू शान्तिपूर्ण युद्धमा रहेको बताए। ‘जनयुद्ध र जनआन्दोलनका उपलब्धि अपहरण गर्ने अपहरणकारीका विरुद्ध युद्धमा छौं, पुस ५ देखि फागुन ११ सम्म नयाँ प्रकारको युद्ध लडिरहेका छौं, जुन देशव्यापी चलिरहेको छ । रक्तपातहीन शान्तिपूर्ण युद्धमा छौं,’ प्रचण्डले भने।

अन्य सम्बन्धित समाचार:  प्रचण्डले अदालतमा पेस गरेका मुख्य पाँच बुँदा

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई फूट र लोकतन्त्रलाई बिसर्जनको बाटोमा लगेपछि त्यसको रक्षाको लागि आफूहरूले संघर्ष गर्नुपरेको प्रचण्डले दाबी गरे।