सांसदहरुलाई प्रचण्ड–माधव पक्षले छलफलका लागि बोलायो

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले आफू निकट सांसदहरुलाई छलफलका लागि बोलाएको छ। सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक निर्णयलाई बदर गरेसँगै प्रचण्ड–माधव पक्ष छलफलमा जुटेको हो।

सांसदहरुसँगको छलफलका लागि अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल चितवनबाट काठमाडौँ फर्कदै छन्। प्रमुख सचेतक देव गुरुङले आगामी रणनीति तय गर्नका लागि अनौपचारिक छलफलका लागि सांसदहरुलाई बोलाएको जानकारी दिए। आजै ओली पक्षले पनि आफु निकटका सांसदहरुलाई छलफलका लागि बोलाएको छ।

प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर सर्वोच्च अदालतले गरेको छ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि त्यस सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका सम्पूर्ण निर्णयहरु असंवैधानिक भएको ठहर अदालतले गरेको हो। त्यस्तै, १३ दिनभित्र संसद्को बैठक बोलाउन अदालतले आदेश जारी गरेको छ।

अन्य सम्बन्धित समाचार:  विप्लव र सरकारबीचको सहमतिपत्र सार्वजनिक गर्ने कार्यक्रम सुरु