काठमाडौं। नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले तुरून्त प्रधानमन्त्री पदबाट राजीनामा दिनु पर्ने माग गरेका छन्।
सर्वोच्चले संसद पुनस्र्थपानाको फैसला गरेको भोलिपल्ट गौतमले बुधबार बिहान विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन्। उनले सर्वोच्चको फैसला आएको फागुन ११को दिन ऐतिहासिक महत्वको भएको पनि जानकारी दिएका छन्।
यस्तो छ प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति
संघीय लोकतांत्रिक गणतन्त्र नेपालको संविधान जारी भए यता वि सं २०७७साल फागुन ११गतेको दिन ऐतिहासिक महत्वको रहेको छ।
यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौ सपुतहरुको वलिदान तथा लाखौ देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो। प्रधानमंत्री केपी वलीले गत पुष ५ गते गर्नु भएको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर भएको छ। आजको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान क़ानून लोकतंत्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो। यस अवसरमा म सर्वप्रथम प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गर्दै वहाँहरुलाई हार्दिक धन्यवाद दिन्छु।
यसअवसरमा म नेपालको नागरिकको हैसियतले निम्नलिखित माग राख्दछु:-
१) सम्माननिय राष्ट्रपति महोदयले प्रेष विज्ञप्ति वाट संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नु पर्छ।
२) प्रधानमन्त्री केपी वलीले प्रधानमंन्त्री पद वाट ढिलानगरी तुरुन्त राजिनामा दिनु पर्छ।
३)नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क. केपी वली र क. प्रचण्ड संग तुरुन्तै सचिवालय वैठक धुम्वाराही स्थित के.कार्यालयमा वोलाउन अनुरोध गर्छु।
वामदेव गौतम , उपाध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
१२।११।२०७७