काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी क्षमा पुजाका लागि बुधबार पशुपतिनाथ मन्दिर जाने भएकी छिन्। पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङ्गमा रहेको जलहरी जिर्णोद्धार गर्ने काम चल्दै गर्दा राष्ट्रपति भण्डारी क्षमापूजाका लागि त्यहाँ जान लागेकी जनाइएको छ। जलहरी राख्नुअघि भारतबाट ३३ जना ब्राह्मण आएर दुई दिनयता पूजापाठ गरिरहेका छन्।
साथै भागवत आश्रम र पशुपतिकै १२१ जना पण्डितहरूले पनि पूजापाठ गरिरहेको पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य तथा जलहरी निर्माण व्यवस्थापन समितिका सदस्य राजु केसीले बताए। राष्ट्रपतिले आज क्षमापूजा गरेपछि जलहरी राखिने उनले जानकारी दिए। यसअघि चाँदीको जलहरी रहेकोमा पशुपति क्षेत्र विकास कोषले सुनको जलहरी राख्न लागेको हो। विभिन्न पक्षको विरोधका बीच पशुपतिनाथ मन्दिरमा जलहरी निर्माणको काम हुँदै आएको छ।
करिब १ अर्ब रुपैया खर्च हुने अनुमान गरिएको जलहरी राख्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट ३० करोड दिने निर्णय गरेको थिए। यसैबीच ज्योतिर्लिंगमा सुनको जलहरी राख्ने काम रोक्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा दुई वटा रिट दर्ता भएका जनाइएको छ।