देउवासँग मिलेर संयुक्त सरकार बनाउन प्रचण्ड र माधवको प्रस्ताव

काठमाडौं। नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

बुधबार दिउँसो प्रचण्ड र नेपाल देउवालाई भेट्न देउवा निवासमा पुगेका थिए। देउवा निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक घट्नाक्रमको बारेमा छलफल भएको हो। दुवै पक्ष आ–आफ्नो पार्टीमा आन्तरिक छलफल गरेर अर्को चरणको वार्तामा बस्न सहमत भएका छन्।

देउवा निकट स्रोतका अनुसार भेटवार्तामा प्रचण्ड र नेपालले मिलेर जाने र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामापछि संयुक्त सरकार बनाउने प्रस्ताव गरेको हो। जवाफमा देउवाले यस विषयमा पार्टीमा छलफल गरी जवाफ दिने प्रतिक्रिया दिएका छन्।