बाटो बिराएकालाई फर्कन प्रचण्ड–माधव समुहको आग्रह

काठमाडौं। नेकपा प्रचण्ड–माधव समुहले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई ‘ऐतिहासिक फैसला’ भएको बताएको छ। सो पार्टीको बुधबार बसेको अनौपचारिक स्थायी समितिको बैठकले सर्वोच्चको यो निर्णयले प्रतिनिधिसभालाई पुनःस्थापना मात्रै नगरी संविधान र लोकतन्त्रको रक्षा समेत गरेको जनाएको छ।

‘यसले देशलाई प्रतिगामी षडयन्त्रको ठुलो चक्रव्युमा र राजनीतिक संकटको अँध्यारो सुरुङतिर लैजाने खतराबाट पनि देशलाई बचाउने योगदान पुर्याएको छ’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘त्यसैले सर्वोच्च अदालतको यो ऐतिहासिक फैसलालाई पार्टीले उच्च मूल्याङ्कन गरेको छ।’ साथै बैठकले प्रतिगमनविरोधि संघर्षमा सक्रिय रहने, सहयोग गर्ने सबै राजनीतिक दल, बुद्धिजीवी र नागरिक समाजलाई आभार र धन्यवाद प्रकट गरेको छ। नेकपाले ओलीको प्रतिगामी कदम असफल भएपनि त्यस्ता प्रवृत्तिका विरुद्ध सचेत रहन आवश्यक रहेको ठहर गरेको छ।

त्यस्तै बैठकले पार्टी एकतालाई प्रहार गर्ने, संविधान र लोकतन्त्रमाथि आक्रमण गर्ने ओलीले आत्मालोचनासहितको प्रस्तुति नभईकन ओलीसँग गरिने एकताको अर्थ नहुने प्रवक्ता श्रेष्ठले बताए। ‘हामी भ्रममा बाँच्ने पक्षमा छैनौ तर उहाँले तत्काल प्रधानमन्त्रीबाट राजीनामा दिनुभयो, मैले संविधान, लोकतन्त्र र पार्टीविरुद्ध गल्ती गरेँ भनेर प्रस्तुत हुनुभयो, त्यसपछि विचार सिद्धान्तको एकताबद्ध भएर विधि पद्धतिमा चल्ने स्थिति पैदा भयो भने हामी सबैले चाहेको त्यहीँ हो’, उनले भने। बैठकले भ्रममा परेर बाटो बिराएका नेता कार्यकर्ताहरुलाई मुल राजनीतिक पार्टीमा आउन आग्रह समेत गरेको छ।