च्याम्पियन्स लिग: एट्लान्टामाथि रियलको संघर्षपूर्ण जीत

युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले जीत हात पारेको छ। अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा रियलले एट्लान्टालाई उसैको मैदानमा १-० ले हराएको हो।

रियलको जीतमा फर्लान्ड मेन्डीले ८६औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो।

उनले लुका मोड्रिचको पासमा गोल गरेका थिए। फरवार्ड करिम बेन्जेमाबिना नै मैदानमा उत्रिएको रियलले गोल गर्ने अवसर सिर्जना गरेपनि फिनिसिङमा चुकेको थियो। एटलान्टाले भने आक्रमणमा कमजोर प्रदर्शन गर्यो।

त्यसअघि खेलको १७औं मिनेटमा मेन्डीलाई नै गोल गर्ने अवसरमा अघि बढ्दा लडाएपछि एट्लान्टाका रेने फ्रुएलरले रातो कार्ड पाएका थिए। १० खेलाडीमा सिमित भएपछि एटलान्टा खेल अवधिभर दबाबमा रहेको थियो।