विद्यार्थीमा रुघाखोकी लाग्ने, ज्वरो आउने लक्षण देखिएपछि विद्यालय बन्द

माघ

बझाङ। बझाङको साइपाल गाँउपालिका ४ मा पर्ने धुली निम्न माध्यमिक विद्यालय आउँदो आइतवारसम्मका लागि बन्द गरिएको छ। विद्यार्थीहरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, घाँटी सुख्खा हुने जस्ता लक्षण देखा पर्न थालेपछि विद्यालय आइतबारसम्मका लागि बन्द गरिएको साइपाल गाँउपालिका ४ की अम्रिता विकले बताइन्।

एकैदिन १५–२० जना विद्यार्थी बिरामी पर्न थालेको र त्यो लक्षण समुदायका अन्य व्यक्तिमा पनि देखिन थालेकाले विद्यालय व्यवस्थापन समितिको बैठकले गएको मङ्गलबारदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको जनाइएको छ। विद्यार्थी र शिक्षक दुवैमा यस्तो लक्षण देखापरेको हो। वडा नम्बर ४ को लाफडीका स्थानीयमा यो समस्या बढी देखा परेको र अहिले अन्य समुदायमा पनि देखिन थालेको जानकारी प्राप्त भएको छ । यस्तो लक्षण देखिएको चारदेखि पाँच दिनपछि भने निको हुने गरेको छ।

वडा नम्बर ४ मा यस्तो समस्या भएको जानकारी पाएपछि साइपाल गाँउपालिकाले स्वास्थ्यकर्मीसहितको त्यहाँ पठाइएको साइपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताए। उनका अनुसार केही दिनअघि साइपाल गाँउपालिका १ र २ मा पनि यो समस्या देखिएको र अहिले निको भइसकेको छ।