नेकपा नफुटेसम्म कुन समुहमा लाग्ने भन्ने टुंगो लाग्दैन: कांग्रेस

काठमाडौँ। नेपाली कांग्रेसले नेकपा नफुटेसम्म कुन समूहलाई साथ दिने भन्ने टुंगो नलाग्ने जनाएको छ। आज कांग्रेसको पदाधिकारी बैठकले सत्तारुढ नेकपा नफुटेसम्म कांग्रेसले नेकपाको कुन समूहलाई साथ दिने, सहकार्य गर्ने भन्ने निक्र्योल गर्ने निर्णय गरेको जनाइएको छ।

सो बैठक पछि कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले भने, ‘अहिले पार्टी एउटै छ। अध्यक्ष केपी ओली नै हुनुहुन्छ । उहाँहरुले निक्र्योल गर्ने कुरा भो। त्यो परिस्थिती नआएसम्म हामी यो पक्ष त्यो पक्षमा लाग्ने कुरा अपरिपक्क हुन्छ। कांग्रेस त्यसो गर्दैन,’। पार्टी र संसदीय दल अलग भएपछि मात्रै कांग्रेसको भूमिका के भन्ने प्रष्ट हुने महतले जानकारी दिए।

संसदको बैठक बसेपछि सरकार यही हुन्छ या हुँदैन भन्ने कुरा टुंगो लाग्ने कम्युनिष्ट पार्टीमा निर्भर रहेको उनले जनाए। उनले भने, ‘अहिले सरकारको नेतृत्वको लागि कसैले भने पनि अर्थ छैन।’ प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चले फैसला सुनाएपछि नेकपाको प्रचण्ड–माधव पक्षले सत्ता सहकार्यको लागि कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए। देउवाले पार्टीमा छलफल गरेर मात्रै सहकार्यको बारे जानकारी दिने बताएका थिए।