चीन सरकारद्धारा दरबार हाई स्कुललाई सहयोग

काठमाडौं। काठमाडौंको दरबार हाई स्कुललाई चीन सरकारले शैक्षिक सामाग्री सहयोग उपलब्ध गराएको छ। चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा चीन सरकार र चिनियाँ जनताको तर्फबाट स्टेशनरी सामग्री, खेलकुद सामग्री, स्वास्थ्य सामग्री, ड्रेस सहयोग गरेको छ। आज विद्यालयमा विशेष कार्यक्रम आयोजना गरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शैक्षिक सामग्री हस्तान्तरण गरिन्।

उक्त अवसरमा चीन सरकारले आफैले पुनर्निर्माण गरेको विद्यालयमा चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा खेलकुद, स्वास्थ्य सामग्री, स्टेशनरी तथा ड्रेस सहयोग गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। चीन सरकारको सहयोग निरन्तर प्राप्त भइरहेको भन्दै मन्त्री श्रेष्ठले राजदूत यान्छीलाई धन्यवाद समेत दिए।

२०७२ सालको भूकम्पबाट दरबार हाइस्कुल पूर्ण रुपमा क्षति भएपछि चीन सरकार आफैंले विद्यालय भवनको निर्माण गरेको थियो। चीन सरकारको सहयोगमा नै विद्यालयमा फर्निचर लगायतका सबै सामग्रीको व्यवस्थापन गरिएको थियो। पुनर्निर्माणपछि विद्यालयमा पठनपाठन शुरु भइसकेको छ।

अन्य सम्बन्धित समाचार:  एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी