बालुवाटारमा प्रदेश १ का सांसदसँग ओलीको छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो प्रदेश १ का सांसदसँग बालुवाटारमा छलफल गरेका छन्।पुस ५ गते आफैले विघटन गरेको प्रतिनिधिसभालाई सार्वोच्च अदालतले फागुन ११ गते पुनस्र्थापना गरेपछि छलफल र परामर्शमा व्यस्त प्रधानमन्त्रीले हाज आफू निकट प्रदेश १ का सांसदसँग भेटघाट गरेका जनाइएको छ।

‘प्रधानमन्त्रीसँग हाम्रो छलफल भइरहन्छ। आज दिउँसो पनि प्रदेश १ का केही साथीहरुसँग प्रधानमन्त्रीले छलफल गर्नु भएको छ’, छलफलमा सहभागी एक सांसदले भने। प्रधानमन्त्रीसँगको छलफलमा पछिल्लो राजनीटिक घटनाक्रम, सत्ता समीकरण, पार्टी एकता र राजनीतिक स्थायित्वको विषयमा छलफल भएको बालुवाटार पुगेका सांसदको भनाइ छ।

‘प्रधानमन्त्री ओली समर्थक केही सांसद उपस्थित थियौँ’, कति सांसद सहभागी हुनुहुन्थ्यो भन्ने प्रश्नमा छलफलमा सहभागी एक सांसदले भने, ‘ठ्याक्कै संख्या गनिन। प्रधानमन्त्री समर्थक केही सांसद थियौँ।’

सांसदहरुसँग करिब एक घण्टासम्म चलेको छलफलमा प्रधानमन्त्री ओलीले अदालतको फैसला कार्यान्वयन गर्ने विषयमा दृढ रहेको जानकारी दिएका छन्। ओलीले नेकपा ‘प्रचण्ड–नेपाल’ समूहको रणनीतिका आधारमा कदम चाल्नेसमेत बताए।

आफैले विघटन गरेको प्रतिनिधिसभालाई सार्वोच्च अदालतले पनुस्र्थापना गरेपछि अप्ठेरोमा परेका प्रधानमन्त्री ओलीले सबै प्रदेशका नेता र सांसदसँग छलफल सुरु गरेका हुन् । सोहीक्रममा शुक्रबार प्रदेश १ का सांसदसँग छलफल भएको र शनिबार बागमती प्रदेशका सांसदसँग छलफल गर्ने तयारी रहेको बालुवाटार स्रोतले बताएको छ।

प्रधानमन्त्रीको कुरा सुनेपछि छलफलमा सहभागी सांसदहरुले नेकपाको एकताको पहल गर्नुपर्नेमा जोड दिएका छन् । ‘नेकपाको आन्तरिक एकतालाई जोड दिएका छौँ । पार्टीलाई कसरी एकतावद्ध बनाउने भन्ने विषयमा हाम्रो भनाइ राखेका छौँ’, ति सांसदले भने, ‘राजनीतिक स्थायित्वको विषयमासमेत छलफल भएको छ।’