प्रचण्डपछि ओलीलाई भेट्न बालुवाटार पुगे वामदेव

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। आज दिउँसो उपाध्यक्ष गौतम नेकपाको ओली पक्षका अध्यक्ष समेत प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्।

गौतमका प्रेस संयोजन विश्वमणि सुवेदीले अहिले बालुवाटारमा प्रधानमन्त्री ओली र उपाध्यक्षबीच छलफल भइरहेको जानकारी दिए। उनले प्रचण्डसँग जस्तै ओलीसँग पनि गौतमले एकताको प्रस्ताव लिएर गएको जनाए। ‘प्रधानमन्त्री र उपाध्यक्ष गौतमबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ’, सुवेदीले नेपालखबरसँग भने, ‘प्रचण्डसँग जस्तै ओलीसँग पनि उहाँले एकताको प्रस्ताव लिएर जानुभएको छ।’

प्रतिनिधि सभा पुनस्र्थापनापछि पार्टी एकताको कुरा जोडतोडका साथ उठाउँदै आएका गौतमले बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनकै निवासमा पुगेर भेट गरेका थिए।

प्रतिनिधि सभा पुनस्र्थापना भएपछिको अवस्थामा नेकपा एक रहन्छ वा विभाजन हुन्छ? भन्ने चर्चाका बीच उपाध्यक्ष गौतमले सक्रियता बढाएका छन्। उनले पार्टी एक बनाएरै छाड्ने बताउँदै आएका छन्।