नेपाल–बङ्गलादेश युवा सम्मेलन शनिबार

काठमाडौं। कोभिड–१९ का कारण प्रभावित हुँदै आएको चौथो नेपाल–बङ्गलादेश युवा सम्मेलन काठमाडौँमा शनिबारदेखि शुरु हुनेछ। दिगो विकास लक्ष्य, जलवायू परिवर्तन तथा प्रकोप नियन्त्रण, युवा सहभागिता र उद्यमशील विकासका विषयमा सम्मोलन केन्द्रित हुने आयोजक प्रतिनिधि अभिनव चौधरीले जानकारी दिए।

युवा विकास केन्द्र र साउथ एसिया पार्टनरसिप (साप) नेपालको आयोजना तथा बङ्गलादेश राजदूतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय युवा परिषद्को सहकार्यमा हुने सम्मेलनमा दुई देशको व्यापारका सम्बन्धमा युवाको भूमिकाका विषयमा छलफल हुनेछ। सम्मेलनमा दुवै देशका कलाकारले लोक संस्कृति प्रस्तुत गर्ने आयोजकले जनाएको छ।

सम्मेलनमा द्विपक्षीय सम्बन्ध विस्तार र कोभिडपछिको अवस्थामा जनस्वास्थ्यमा कसरी सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने विषयमा छलफल हुनेछ । यसअघि पहिलो र तेस्रो सम्मेलनमा काठमाडौँमा भएको थियो। दोस्रो पूर्वी नेपालको इटहरीमा भएको थियो । यसपालि बङ्गलादेशमा गर्ने भनिए पनि सम्भव नभएपछि नेपालमा नै गर्न लागिएको आयोजकले जनाएको छ। पाँचौँ संस्करण भने बङ्गलादेशमा विसं २०७८को शुरुआतमै हुने जनाइएको छ। सम्मेलनमा २५ बङ्गलादेशी युवासहित ६५ जनाको सहभागिता रहने बताइएको छ।